प्रवक्ता भट्टराईका अनुसार क्लस्टर नमिलेको अवस्थामा आयोगले सम्बन्धित दललाई यही पुस २० गतेसम्म सूचित गरिसक्छ । ‘त्यसपछि सम्बन्धित दलको तर्फबाट यही पुसको २१ गतेदेखि २७ गतेसम्म आयोगले बताएअनुसार संशोधन गरेर पेस गर्ने कार्यक्रम हुनेछ,’ उनले भने ।
उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारले पुस २८ गते समय पाउनेछन् । कसैले फिर्ता लिएमा आयोगले त्यसबारेको जानकारी सम्बन्धित दललाई पुस २९ गते दिइनेछ ।
उम्मेदवारले नाम फिर्ता लिएको कारण रिक्त हुन आएको स्थानमा सोही समूहको अर्को उम्मेदवारको मनोनयन गरी मनोनीत उम्मेदवारको नामावली सम्बन्धित राजनीतिक दलले आयोगमा पेश गर्ने समय पुस ३० गतेका लागि तोकिएको छ ।
त्यसपछि प्राप्त उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन गर्ने कायोगको कार्यतालिका छ ।
आयोगको कार्यतालिका अनुसार आगामी माघ ४ गते उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन भएपछि उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको उम्मेदवारको योग्यता सम्बन्धमा दावी विरोध गर्न निवेदन दिन सकिनेछ । यसका लागि ५ गतेदेखि माघ १० गतेसम्मको समय तय गरिएको छ ।
माघ ११ गतेदेखि १७ गतेसम्म उम्मेदवारको बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धी दावी विरोधको निवेदन उपर जाँचबुझ गरेर आयोगले निर्णय गर्नेछ ।
आयोगको तालिका अनुसार आगामी माघ २० गते समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन हुनेछ ।