जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज क्षेत्रमा लगाएको कर्फ्युको समय थप गरेको छ। कर्फ्युको समय मंगलबार दिउँसो १ बजेसम्मको लागि थप गरिएको स्थानीय प्रशासनले जनाएको छ। यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो।
तर, स्थिति सामान्य नभइसकेकाले कर्फ्युको सयम थप गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए। पूर्वमा बसपार्क, नगवा, ईनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटलाई केन्द्रीत गरेर कर्फ्यु लगाइएको हो।
‘कर्फ्युको समयमा सुरक्षाकर्मीले देख्ने बित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन र निस्कनु परेमा नजिककैको सुरक्षाकर्मीसँग समन्वय गरि वा एकसय नम्बरमा फोन गरि निस्कन अनुरोध छ,’ मंगलबार बिहान सीडीओ दाहालले जारी गरेको सूचनामा भनिएको छ, ‘कर्फ्यु आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शव बाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरू, सञ्चारकर्मीहरू, पर्यटकका सवारी साधन, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई सेवाका यात्रुहरूको आवागमनमा सुरक्षकर्मीहरूबाट सहजीकरण हुनेछ।’
दुई धार्मिक समुदायबीच उत्पन्न विवादले हिंसात्मक रुप लिन सक्ने जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा सतर्कता कडा पारिएको जनाएको छ।
धार्मिक तथा सामाजिक विवादका कारण गएका केही दिनदेखि वीरगन्ज, जनकपुरसहितका मधेसका जिल्लामा प्रदर्शन भइरहेका छन्। दुई दिनदेखि धार्मिक र सामाजिक विषयलाई लिएर दुई पक्षबीच वीरगञ्जमा लगातार प्रदर्शन भइरहेका छन्।
आइतबारदेखि सुरु भएको आन्दोलनका कारण जनजीवन प्रभावित भएको छ भने नगर क्षेत्र अशान्त बनेको छ। सम्भावित झडप र क्षति रोक्न सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ। प्रशासनले सर्वसाधारणलाई कर्फ्युको पालना गर्न र संयमता अपनाउन आग्रह समेत गरेको छ।
मधेसका प्रदेश प्रमुखदेखि मुख्यमन्त्रीसम्मले सार्वजनिक अपिल मार्फत् साम्प्रदायिक सद्भाव कायम राख्न र संयमता अपनाउन आग्रह गरेका छन्।