बुटवल । नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य एवं कपिलवस्तुबाट चारपटक संघीय सांसद जितेका नेता बृजेश कुमार गुप्ताले पार्टी परित्याग गरेका छन् ।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले युवा विद्यार्थीको सुशासन लगायतका जायज मागलाई नजर अन्दाज गरेर आन्दोलनमा दमन गरेको, दुई ठूला दल मिलेर जे गरेपनि हुन्छ भन्ने दम्भ देखाएको र एमाले नेतृत्व सुध्रिने लक्षण नदेखेपछि पार्टी परित्याग गरेको गुप्ताले बताएका छन् ।
पूर्वसंघीय मन्त्री समेत रहेका गुप्ताले एमालेको नेतृत्वको मुख्य ध्यान नै भ्रष्टाचारलाई संरक्षण गर्ने देखिएको आरोपसमेत लगाएका छन् । ‘पार्टी नेतृत्वको ध्यान, गतिविधि, संस्कार भ्रष्टाचार गर्ने र भ्रष्टाचारी जोगाउने तर सुशासन नदिने देखियो त्यसैले पार्टी छाड्न वाध्य भएँ’, गुप्ताले अनलाइनखबरसँग भने, ‘नेतृत्वमा राम्रा कामको जस लिने तर गल्ती कमजोरी कहिल्यै नस्वीकार्ने पटक-पटक देखियो अनि राजीनामा दिएको हुँ ।’
गुप्ताले आफू भारतमा रहेकै बेला पार्टीबाट राजीनामा दिएको र महाधिवेशनमा पनि नगएको बताए । राजनीति नै गर्ने भएकाले अब कुन दलमा जाने भन्नेबारे आफ्नो क्षेत्रका मतदाता र शुभेच्छुकसँग सल्लाह गरिरहेको गुप्ताले बताए ।