१८ माघ २०८२, शनिबार

संस्थापन पक्षीय केन्द्रीय सदस्यसँग शेखरले भने, ‘प्रतिनिधिसभामा तालमेल हुनुहुँदैन’


काठमाडौँ । नेपाली कांग्रेसका इतर समूहका नेता डा. शेखर कोइरालाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा तालमेल हुन नहुने बताएका छन् । संस्थापन समूहका आफूलाई भेट्न सम्पर्क कार्यालयमा पुगेका ३० केन्द्रीय सदस्यहरूसँग डा. कोइररालाले मंगलबार बिहान विशालनगरस्थित सम्पर्क कार्यालयमा प्रतिनिधिसभामा गठबन्धन नहुने बताए ।

भेटमा सहभागी केन्द्रीय सदस्य आङगेलु शेर्पाका अनुसार राष्ट्रियसभामा तालमेल गर्न लागे पनि प्रतिनिधिसभामा कसैसँग पनि तालमेल नहुने डा. कोइरालाले बताएका थिए ।

‘एमालेका केही नेताहरूले प्रतिनिधि सभामा पनि गठबन्धन गरौँ भन्ने कुरा गरेको हो, कांग्रेसले प्रतिनिधि सभामा कसैसँग पनि गठबन्धन गर्दैन,’ भेटमा डा. कोइरालाको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य शेर्पाले भने ।

पार्टीभित्र नियमित र विशेष महाधिवेशन भन्ने विवाद भइरहेका विवाद मिलाउन सक्रिय रहेका केन्द्रीय सदस्यहरूले डा. कोइरालासँग बिहान साढे २ घण्टा कुराकानी गरेका थिए ।

तालमेल गर्दा प्रत्यक्ष निर्वाचनमा दुई चार सिट बढी आउँला तर समानुपातिक मत घट्ने र कांग्रेसलाई दिर्घकालिन हानी हुने डा. कोइरालाले केन्द्रीय सदस्यहरूसँग बताएका थिए । आगामी निर्वाचनमा कांग्रेस एक्लै जानु पर्ने कुरामा आफू स्पष्ट भएको डा. कोइरालाको भनाइ थियो ।

पार्टीभित्र देखा परेको विवाद समाधान गर्ने विषयमा अग्रसरता लिन उनीहरूले कोइरालालाई आग्रह गरेका थिए। केन्द्रीय कार्यसम्पादन समितिको पुस १८ गतेको बैठकले बहुमतका आधारमा वैशाखमा महाधिवेशन सारेपछि महामन्त्रीलगायत ५ जना नेताहरूले फरक मत राखेका थिए।

नेता कोइरालाले बहुमतको निर्णय मान्न आफू बाध्य भएको बताए पनि फरक मत राखेका थिएनन्।