१८ माघ २०८२, शनिबार

अनलाइन स्क्यामिङमा नेपालीको प्रयोग रोकिएनः कमजोर बन्दै सुरक्षा निती !


आईटीको काम भन्दै म्यानमार पुर्‍याएर नेपाली नागरिकलाई साइबर दास बनाएको घटनामा पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ ।मानव बेचबिखन अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवदेनको आधारमा पाँच जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मानव बेचबिखन तथा आसोरपसार अन्तर्गतको कसुरको मुद्दा दायर भएको हो ।

मुद्दा दायर गरिएका मध्ये दुई प्रतिवादी पक्राउ छन् । जसमा सर्लाहीको भर्दोल गाउँपालिका–९ का २४ वर्षीय रञ्जितकुमार महतो र खोटाङका ४१ वर्षीय मणिराज राई छन् । उनीहरु बाहेक सर्लाहीकै राजनारायण महतो, रामेछापका हेमबहादुर श्रेष्ठ र धनकुटाका राजेश शर्मा भनिने भीमबहादुर गिरीविरुद्ध पनि मुद्दा दायर भएको छ । उनीहरू भने फरार प्रतिवादी छन् ।

पाँच जनाविरुद्ध दुई फरक जाहेरीको आधारमा मुद्दा दायर भएको हो । तर उनीहरुको कसुर भने एउटै प्रकृतिको छ । दुबैले नेपाली नागरिकलाई थाइल्याण्डमा आईटीको काम भन्दै म्यानमार लगेर बन्धक बनाउँदै साइबर स्कयामिङमा काम लगाएको आरोप छ ।

पछिल्लो पटक म्यानमारमा बन्धक बनाएर साइब स्लेभ (साइबर, डिजिटल दास) को रूपमा प्रयोग गरिएका ४७ नेपाली नागरिकको उद्धार गरी २३ मंसिरमा काठमाडौं ल्याइएको थियो ।

यसरी उद्धार गरिएका मध्येबाट दुई उजुरी ब्युरोमा दर्ता भएका थिए । ब्युरोका एसएसपी कृष्ण पंगेनीका अनुसार तिनै दुई जाहेरीका आधारमा अहिले पाँच जनाविरुद्ध मुद्दा चलाइएको हो ।

पक्राउ परेकाहरूमाथिको सोधपुछ, फर्केकाहरूले दिएको जाहेरी तथा अनुसन्धानबाट नेपालीहरूलाई त्यहाँ साइबर दासको रूपमा चिनियाँ गिरोहले प्रयोग गरिरहेको पत्ता लागेको हो ।

थाइल्यान्डस्थित नेपाली दूतावास, म्यानमार सरकार र ब्युरोको समेत पहलमा ४७ नेपालीको उद्धार भएको थियो । त्यहाँ अझै करिब १०० को हाराहारीमा नेपालीहरूलाई बन्धक बनाएर साइबर दासको रूपमा काम लगाइएको छ ।

म्यानमारको विद्रोही समूहको दबदबा रहेको क्षेत्र मेवाडीमा चिनियाँ गिरोहले क्याम्प नै खडा गरेर ‘अनलाइन स्क्यामिङ’ (ठगी) धन्दामा नेपालीहरूलाई प्रयोग गरेको बताइन्छ । म्यानमार प्रशासनको समेत पहुँच बाहिर रहेको मवाडीबाट चिनियाँ गिरोहले चलाएको ‘अनलाइन स्क्यामिङ’को पासोमा अहिले नेपाली पर्दै आएका छन् ।

चिनियाँहरू बाहिरबाटै सबै कुराको व्यवस्थापन गर्ने तर अनलाइन स्क्यामिङ अपराधमा भने नेपालीहरू प्रयोग गर्ने गरेको एसएसपी पंगेनी बताउँछन् ।