१८ माघ २०८२, शनिबार

थाइल्यान्ड र कम्बोडियाबीचको दशकौं पुरानो सीमा विवाद !


थाइल्यान्डले कम्बोडियामाथि १० दिनअघि भएको युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै सीमापार मोर्टार फायरका कारण एक थाई सैनिक घाइते भएको जनाएको छ । यद्यपि कम्बोडियाले यसलाई ‘दुर्घटना’ भन्दै आफ्नै दुई सैनिक पनि विस्फोटमा घाइते भएको दाबी गरेको छ ।

थाइल्यान्डको विदेश मन्त्रालयका अनुसार उबोन रत्चथानी प्रान्तमा मंगलबार बिहान कम्बोडियाबाट मोर्टार प्रहार हुँदा एक थाई सैनिकको दाहिने हातमा छर्रा लागेर गम्भीर घाइते भएका थिए । थाई सेनाले घटनाको वास्तविकता तत्काल पत्ता लगाउन कम्बोडियाली पक्षसँग सम्पर्क गरेको जनाएको छ । मन्त्रालयले यस्ता घटना दोहोरिन नदिन आग्रह गर्दै कम्बोडियासँग माफीको अपेक्षा गरेको छ ।

जवाफमा कम्बोडियाको रक्षा मन्त्रालयकी प्रवक्ता माली सोचेटाले प्रेह विहार प्रान्तमा ‘फोहोरको थुप्रो विस्फोट हुँदा’ दुई कम्बोडियाली सैनिक घाइते भएको र तीमध्ये एकको अवस्था गम्भीर रहेको बताएकी छन् । थाई सेनाले कम्बोडियाली पक्षले सम्पर्क गरी थाई भूभागमा जानाजानी गोली नचलाइएको र यो परिचालन त्रुटिका कारण भएको स्वीकार गरेको जनाएको छ । तर थाई सेनाले यस्ता घटना दोहोरिए कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ ।

थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले सैन्य तहमा यसलाई दुर्घटना भनिए पनि जिम्मेवारी र स्पष्टीकरण आवश्यक रहेको बताए । उनले थाइल्यान्डसँग आवश्यक परे जवाफ दिने क्षमता रहेको पनि उल्लेख गरेका छन् ।थाइल्यान्ड र कम्बोडियाबीचको दशकौं पुरानो सीमा विवाद गत वर्ष पटक–पटक हिंसात्मक झडपमा परिणत भएको थियो । डिसेम्बरमा भएको लडाइँमा दर्जनौंको ज्यान जानुका साथै करिब १० लाख जना विस्थापित भएका थिए ।