=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने माग गरिरहेको बेला कांग्रेसका केही सांसदहरु पनि यसकै पक्षमा उभिएका छन् ।
शुक्रवारदेखि बसेको कांग्रेस संसदीय दलको बैठकमा उनीहरुले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिएका हुन् । उनीहरुले एक क्विन्टल सुन तस्करीबारे गम्भीर भएर उच्चस्तरीय छानबिन आवश्यक रहेको बताएका छन् ।
नेता शेखर कोइराला समूहका सबै सांसदहरूले उच्चस्तरीय छानबिन बनाउन उपयुक्त हुने बताएका छन् भने संस्थापन पक्षका सांसदहरूले सरकार मातहतका निकायहरूबाटै अनुसन्धान गर्नु प्रभावकारी हुने अडान लिएका छन् ।
कोइराला समूहका नेताहरूले सुन तस्करी प्रकरणमा प्रधानमन्त्री, गृहमन्त्रीसहित मन्त्रीहरूको नाम जोडिएर आएको र विगतदेखिका प्रकरणमा माओवादीका अरु नेता कार्यकर्ताको नामसमेत जोडिएकाले उच्चस्तरीय छानबिन समिति आवश्यक रहेको बताएका हुन् ।
संसदीय दलको बैठकमा केही सांसदहरुले प्रधानमन्त्री उच्चस्तरीय छानबिन समिति बनाउन तयार नभए कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिनसमेत तयार हुनुपर्ने बताएका छन् । बैठकमा सांसदहरूले सत्तारुढ दलका सांसद र कार्यकर्ताहरूलाई नै सरकार भएको अनुभूति हुन नसकेको भन्दै सरकारको कार्यशैलीप्रति विरोध जनाएका छन् ।
कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दैछ । संसदीय दलका मुख्य सचेतक रमेश लेखकले आजको बैठकले सबैको धारणलाई समेटेर महत्त्वपूर्ण प्रस्ताव पारित हुने बताउनुभएको छ ।