७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026

मन्त्री लम्सालद्वारा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ संसदमा प्रस्तुत


काठमाडौँ – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्रतिनिधिसभाको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गरेका छन्। बैठकमा विधेयक पेस गर्न अनुमति मागिएको प्रस्ताव स्वीकृत भएपछि उनले विधेयक प्रस्तुत गरेका हुन्।

विधेयक प्रस्तुत गर्दै मन्त्री लम्सालले फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन, स्रोतको उपयोग तथा स्वच्छ वातावरण निर्माणका लागि विधेयक महत्वपूर्ण हुने बताए।

उनका अनुसार फोहोरमैला उत्सर्जन, सङ्कलन, विसर्जन र व्यवस्थापनमा संघ, प्रदेश तथा स्थानीय तहको भूमिका र जिम्मेवारी स्पष्ट गर्न विधेयक आवश्यक रहेको छ।

मन्त्री लम्सालले फोहोरलाई फोहोरका रूपमा मात्र नभई स्रोत र साधनका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिँदै तीनै तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताए।

मानव स्वास्थ्य तथा वातावरणमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्दै चक्रीय अर्थतन्त्रको अवधारणाअनुसार फोहोर प्रशोधन गरी पुनः स्रोतका रूपमा उपयोग गर्ने उद्देश्यले विधेयक ल्याइएको उनले स्पष्ट पारे।

फोहोरमैला व्यवस्थापनलाई दिगो र व्यवस्थित बनाउन संघीय कानुन आवश्यक भएकाले विधेयक संसदमा प्रस्तुत गरिएको र यसले विद्यमान कानुनी तथा प्रशासनिक जटिलता हटाउँदै व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने उनको भनाइ छ।