=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
काठमाडौँ- सरकारले खेलकुद क्षेत्रको विकास र खेलाडी उत्पादनलाई प्राथमिकता दिँदै सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार निर्माण गर्ने भएको छ।
खेलकुद पूर्वाधार निर्माण तथा सुदृढीकरणका लागि शहरी विकास तथा भवन निर्माण विभाग र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। बिहीबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा विभागका महानिर्देशक ई. रवीन्द्र बोहरा र राखेपका सदस्यसचिव रामचरित्र मेहताले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
मन्त्री पोखरेलका अनुसार पहिलो चरणमा सातै प्रदेशमा क्रिकेट र फुटबल रंगशाला तथा कभर्ड हल निर्माण गरिनेछ। सरकारले यी पूर्वाधारमार्फत विद्यालय तहदेखि नै खेलाडी उत्पादन र खेलकुदप्रति युवाको आकर्षण बढाउने लक्ष्य राखेको छ।
चालु आर्थिक वर्षको बजेटमा नयाँ खेलकुद संरचना निर्माणसँगै विद्यमान पूर्वाधारको मर्मत, पुनर्निर्माण, स्तरोन्नति र सुदृढीकरणलाई पनि प्राथमिकता दिइएको छ।
बजेटअनुसार आगामी तीन वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशाला स्तरोन्नति गर्ने तथा प्रमुख आठ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने लक्ष्य छ।
त्यस्तै, विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा २ हजार दर्शक क्षमताका इन्डोर मल्टिपर्पोज स्टेडियम निर्माण गर्ने योजना सरकारको छ। मुलपानी क्रिकेट रंगशालाको डिजाइन पुनरावलोकन गरी लगानीको मोडालिटी तय गर्ने पनि बजेटमा उल्लेख गरिएको छ।