१८ माघ २०८२, शनिबार

विशेष महाधिवेशन केन्द्रिय कार्यसमिति बाहेक अन्य सदस्यले बोलाएमा पार्टिको विधान विपरित हुने !


कांग्रेसले महामन्त्रीहरुले बोलाएको विशेष महाधिवेशन वैधानिक नहुने भन्दै सहभागी नहुन प्रतिनिधिहरुलाई आग्रह गरेको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै पदाधिकारी वा सदस्यहरूले बोलाएको अधिवेशन वा विशेष महाधिवेशन पार्टीको विधानविपरीत हुने भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीपंक्तिलाई आग्रह गरेका हुन् । विशेष महाधिवेशन पक्षधरहरूले पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशनका तयारी अगाडि बढाएको पृष्ठभूमिमा यस्तो विज्ञप्ति जारी भएको हो ।

‘पार्टीको विधानमा व्यवस्था भएबमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको छ,’ विज्ञप्तिमा लेखिएको छ,’पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधानविपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरुलाई नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ ।’

कांग्रेसका विशेष महाधिवेशन मागकर्ता नेताहरुले पार्टीको विधान अनुसार यही पुस २७ र २८ गते काठमाडौंमा विशेष केन्द्रीय महाधिवेशन गर्दैछ । वर्तमान विषम राजनीतिक परिस्थितिमा कांग्रेसलाई सुदृढ, गतिशील र जनभावनाअनुकूल बनाउन तथा समसामयिक नीति निर्माणसहित पार्टीको पुनर्निर्माण गर्न विशेष महाधिवेशन अपरिहार्य भएको उनीहरुको ठहर छ । कांग्रेमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन हुन लागेको हो ।

Congress urges delegates not to attend special general convention called by general secretaries