१८ माघ २०८२, शनिबार

कांग्रेस विवाद : विशेष महाधिवेशनको पक्षमा लुम्बिनीबाट कति भरथेग ?


बुटवल । नेपाली कांग्रेसमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवादले अन्ततः पार्टी नै विभाजन हुने हो कि भन्ने चिन्ता बढाएको छ ।
सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित संस्थापन पक्षका नेता–कार्यकर्ता नियमित महाधिवेशनका पक्षमा छन् भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको पक्षमा अडिग छन् ।

कांग्रेसभित्र देखिएका यी दुई धारमा पार्टीको लुम्बिनी प्रदेश समिति भने विशेष महाधिवेशनकै पक्षमा खुलेकोमात्र होइन, अभियान अघि बढाउने हर्ताकर्ता नै देखिएको छ ।
लुम्बिनी प्रदेश कार्यसमितिमा विशेष महाधिवेशन पक्षधरकै बाहुल्यता छ भने प्रदेशका १२ जिल्लामध्ये ९ जिल्ला सभापति पनि विशेष महाधिवेशनकै पक्षधर हुन् ।
प्रदेश सभापति अमरसिंह पुनले विशेष महाधिवेशनको पक्षमा लुम्बिनीबाट अधिकांश प्रतिनिधि खुलेको बताए । उनले प्रदेशबाट प्रतिनिधिहरूलाई काठमाडौँ लैजाने व्यवस्था भइरहेको जानकारी दिए ।
लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसका ६७६ जना महाधिवेशन प्रतिनिधि छन् । तीमध्ये ६० प्रतिशतभन्दा धेरै विशेष महाधिवेशन पक्षधर रहेको प्रदेश सभापति पुनको दाबी छ ।

उनका अनुसार रुपन्देहीका ५ निर्वाचन क्षेत्रमध्ये ४ क्षेत्रीय सभापति विशेष महाधिवेशनको पक्षमा छन् । जिल्ला सभापतिमध्ये गुल्मीका खिलध्वज पन्थी, अर्घाखाँचीका केशव श्रेष्ठ, बाँकेका नारायण गौडेल, प्युठानका विष्णु गिरी, नवलपरासीका अर्जुन पोखरेल, रुकुम पूर्वका केशरमान रोकाया, रोल्पाका किशोर कुमार आचार्य, पाल्पाका हिमालदत्त श्रेष्ठ शेखर, कपिलवस्तुका अब्दुल कलाम विशेष महाधिवेशनको पक्षमा खुलेका छन् ।

रुपन्देही जिल्ला सभापति रामकृष्ण खाण भने विशेष महाधिवेशनको विपक्षमा देखिएका छन् । यस्तै, बर्दियाका अरुण राठौर र दाङका सभापति शङ्कर डाँगी पनि विशेष महाधिवेशनको पक्षमा छैनन् ।

लुम्बिनी प्रदेशमा केन्द्रको संस्थापन पक्ष अल्पमतमा छ । प्रदेश सभापति पुनसहित पदाधिकारीहरू केन्द्रको इतर समूहका हुन् । प्रदेश समितिमा उपसभापति राजु खनालमात्रै केन्द्रको संस्थापन पक्षका हुन् ।
यसअघि विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका कतिपयले भने पार्टी नै विभाजन हुने हो कि भन्ने आशंका गर्दै हस्ताक्षर फिर्ता लिएका छन् । पुस १८ मा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आउँदो वैशाख २८ देखि ३१ सम्म १५औँ महाधिवेशन गर्ने गरी संशोधित कार्यतालिका ल्याएपछि केहीले विशेष महाधिवेशन पक्षमा गरेको हस्ताक्षर फिर्ता लिएका हुन् ।

कपिलवस्तु क्षेत्र नम्बर ३ वाट महाधिवेशन प्रतिनिधि रहेका पूर्वराज्यमन्त्री वीरेन्द्र कनौडियाले पार्टी विभाजन हुन सक्ने भन्दै आफ्नो हस्ताक्षर फिर्ता गरेको जनाए । यस्तै नवलपरासी क्षेत्र नम्बर २ बाट दुर्गा गुरुङ, ऋषिराम पौडेलसहित ४ जना प्रतिनिधिले पनि हस्ताक्षर फिर्ता लिएका छन् ।

लुम्बिनी प्रदेशमा केन्द्रको संस्थापन पक्ष अल्पमतमा छ । प्रदेश सभापति पुनसहित पदाधिकारीहरू केन्द्रको इतर समूहका हुन् । प्रदेश समितिमा उपसभापति राजु खनालमात्रै केन्द्रको संस्थापन पक्षका हुन् ।

उपसभापति खनालले विशेष महाधिवेशनको पक्षमा यसअघि हस्ताक्षर गरेको कतिपयले फिर्ता लिइसकेको जिकिर गर्दै विशेष महाधिवेशनको पक्षमा उपस्थिति कम हुने दाबी गर्छन् । उनले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दर्ता भइसकेको र प्रतिनिधि सभाको पनि प्रत्यक्षतर्फको उम्मेदवार छनोट गरेर अघि बढ्नुपर्ने समयमा नियमित महाधिवेशनको मितिसमेत तोकेको अवस्थामा पार्टीभित्र विवाद सिर्जना गर्नु राम्रो नहुने तर्क गरे ।