१८ माघ २०८२, शनिबार

झलनाथ चुनाव नलड्ने, वामदेवको टिकट लागेन टुङ्गो


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनाल फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन नलड्ने भएका छन् । विगतका चुनावमा इलाम २ बाट निर्वाचन लड्दै आएका खनाल यो पटक कतैबाट पनि निर्वाचन नलड्ने मनस्थितिमा पुगेका हुन् ।

निर्वाचन लड्न करोडौँ रकम चाहिने तर त्यो अहिले आफूसँग नभएकाले पछि हट्नुपरेको खनालको भनाइ छ । ‘मेरो निर्वाचन क्षेत्र इलाम हो,तर मेरा लागि इलाम यो पटक धेरै टाढा भयो । किनभने भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले मेरो परिवार र भएको सम्पत्ति सबै खरानी भयो’, खनालले भने, ‘परिवारको उपचार गर्न नै समस्या भइरहेको छ । अझै कति समय उपचार गर्नुपर्छ भन्ने निश्चित छैन ।’

खनालले उपचार गर्न रकम समेत अभाव भइरहेको र श्रीमतीको उपचारका लागि अस्पताल पनि गइरहनुपर्ने हुँदा निर्वाचनमा खटिन समेत समस्या पर्ने देखिएकाले त्यति धेरै चासो पनि नदिएको बताए ।

स्रोतका अनुसार खनालले इलाम जान नसकेको खण्डमा काठमाडौँ ८ बाट निर्वाचन लड्न सहज हुने पार्टीमा बताएका थिए । तर उक्त स्थानमा काठमाडाैँकै स्थानीयलाई उम्मेदवार बनाउँदा राम्रो हुने पार्टीको निष्कर्ष निकालेको थियो । सोही निष्कर्षका आधारमा नेकपाले काठमाडौँ ८ मा हालैमात्र नेकपा प्रवेश गरेका सुमन सायमीलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

खनाल २०७९ को निर्वाचनमा इलाम–२ बाट चुनावी प्रतिस्पर्धा गरेपनि पराजित भएका थिए । उक्त क्षेत्रमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत विजयी भएका थिए । बस्नेतले २५ हजार सात सय ५० मत प्राप्त गरेका थिए भने खनालले २३ हजार ८८ मत पाएका थिए ।

नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेतामध्ये संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचन लड्ने निश्चित हुँदा सहसंयोजक माधवकुमार नेपाल रौतहट १ बाट चुनाव लड्ने तयारीमा छन् । यसअघि प्रचण्ड गोरखा २ बाट निर्वाचित भएका थिए भने नेपाल रौतहटबाटै निर्वाचित भएका थिए ।

उता राष्ट्रिय सभा सदस्य रहेका नेता वामदेव गौतमको निर्वाचन क्षेत्र अझै टुङ्गिएको छैन । गौतम बर्दिया २ र प्युठानमध्ये कुनै एक क्षेत्रबाट निर्वाचन लड्ने तयारीमा छन् तर उनको टिकटबारे आइतबार बिहानसम्म पनि टुङ्गिन नसकेको बताइएको छ । अर्का नेता नारायणकाजी श्रेष्ठ भने यसपटक सर्लाही ३ बाट चुनाव लड्ने निश्चित भएको छ ।