१८ माघ २०८२, शनिबार

पूर्वअर्थमन्त्रीहरू को कहाँबाट लड्दैछन् चुनाव ?


काठमाडौं । आगामी २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि पूर्वअर्थमन्त्रीहरू चुनावी मैदानमा छन् ।

यसपालि पूर्वप्रधानमन्त्री तथा अर्थमन्त्री डा. बाबुराम भट्टराईले पुन: चुनावमा होमिने निर्णय गरेका छन् । यसअघि चुनाव नउठ्ने घोषणा गरेका उनी गोरखा-२ बाट निर्वाचनमा होमिएका हुन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उनी निर्वाचनमा होमिएका हुन् । यो क्षेत्रमा गत निर्वाचनमा उनले तत्कालीन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का लागि आफ्नो क्षेत्र छाडिदिएका थिए ।

काङ्ग्रेसबाट पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत नुवाकोट-१ बाट निर्वाचन लड्दैछन् । यस क्षेत्रमा गत निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी भएका थिए ।

अर्का अर्थमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन भने रोल्पामा निर्वाचन लड्दैछन् । उनी तेस्रो पटक रोल्पाबाट उम्मेदवार बनेका हुन् । यसअघि उनी २०७४ र २०७९ सालको निर्वाचनमा विजयी भएका थिए ।

एमालेबाट पटक-पटक अर्थमन्त्री बनेका विष्णुप्रसाद पौडेल यसपालि रुपन्देही-२ बाट निर्वाचनमा होमिँदैछन् । यसअघि उनी पाल्पाबाट उठ्ने तय भएको थियो । पछि चर्को विरोध भएपछि एमालेले उनलाई रुपन्देहीबाटै उठाउने निर्णय गरेको हो ।

पौडेलले यो क्षेत्रमा २०५६ सालदेखि नै निर्वाचन लड्दै आएका छन् । उनी गत निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । पटक-पटक गरी उनी ८ पटक मन्त्री हुँदा धेरै समय अर्थ मन्त्रालयमा बिताएका छन् ।

पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले यसपालि सुनसरी-४ बाट निर्वाचन लड्दैछन् । सुनसरी-४ मा यसअघि वाम गठबन्धनलाई हराउँदै उनी विजयी भएका थिए । सोही क्षेत्रमा कार्कीलाई कांग्रेसले पुन: टिकट दिएको हो ।

त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट उम्मेदवारी दिने तयारीमा छन् । प्रचण्डसँग अलग बनेका उनी यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । रुकम पश्चिमबाट उनी चार पटक विजयी भइसकेका छन् ।

कांग्रेसका वरिष्ठ नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महत स्वास्थ्यका कारण अहिले सक्रिय राजनीतिमा छैनन् । यसअघि उनी उठ्ने गरेको क्षेत्रमा उनका भाइ प्रकाशशरण महतले टिकट पाएका छन् । त्यस्तै, कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्य पनि यसपालि चुनावी प्रतिस्पर्धामा छैनन् ।

वर्तमान सरकारका अर्थमन्त्री रामेश्वर खनालले अब सक्रिय राजनीति नगर्ने सार्वजनिक घोषणा गरिसकेका छन् । अर्थ सचिवबाट राजीनामा दिएपछि नेपाली कांग्रेस प्रवेश गरेका उनी पछि डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा सक्रिय भएका थिए । नयाँ शक्तिबाट बाहिरिएपछि उनी सक्रिय राजनीतिमा छैनन् ।

यस्तै एमालेले यसपालि पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई भने टिकट दिएन । यसअघि उनी चितवन–१ बाट पराजित भएका थिए । त्यसअघि भने उनी त्यही क्षेत्रबाट विजयी हुँदै आएका थिए ।

एमालेका पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा चुनावी अभियानमा सहभागी छैनन् । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री कृष्णबहादुर महरा भने यस पटक चुनावी प्रतिस्पर्धामा छैनन् ।

त्यसैगरी राप्रपा नेता तथा प्रकाशचन्द्र लोहनीले पनि टिकट नपाएपछि चुनावमा प्रतिस्पर्धा गरिरहेका छैनन् । २०७० को संविधानसभा निर्वाचन गराउने चुनावी सरकारका अर्थमन्त्री शंकरप्रसाद कोइराला पनि सक्रिय राजनीतिमा नभएका कारण चुनावी प्रतिस्पर्धामा छैनन् ।