जापानको एक अदालतले पूर्व प्रधानमन्त्री सिन्जो आवेको हत्या गर्ने अभियुक्त तेत्सुया यामागामीलाई आजीवन काराबासको सजाय सुनाएको छ । ४५ वर्षीय यामागामीले तीन वर्षअघि चुनावी सभाका क्रममा अवेमाथि गोली प्रहार गरी हत्या गरेका थिए ।
अभियोजक पक्षले यो घटनालाई ‘युद्धपछिको जापानी इतिहासकै सबैभन्दा अनपेक्षित र गम्भीर अपराध’को संज्ञा दिँदै यसले जापानी समाजमा गहिरो मनोवैज्ञानिक र राजनीतिक प्रभाव पारेको दाबी गरेका थिए । सोही आधारमा उनीहरूले यामागामीलाई आजीवन काराबासको सजाय हुनुपर्ने माग गरेका थिए ।
यामागामीका कानुनी प्रतिनिधिले भने २० वर्षभन्दा लामो कैद सजाय दिनु अनुचित हुने तर्क पेश गरेका थिए । तर अदालतले अभियोजन पक्षको मागलाई प्राथमिकता दिँदै अपराधको गम्भीरता, सार्वजनिक सुरक्षामा परेको असर तथा राजनीतिक स्थायित्वमा उत्पन्न जोखिमलाई मध्यनजर गरी आजीवन काराबासको फैसला सुनाएको हो ।
उल्लेखनीय छ, सन् २०२२ जुन ८ मा नारास्थित यामातो सादाजी स्टेशन नजिक आयोजित चुनावी सभालाई सम्बोधन गरिरहेका बेला सिन्जो अवेमाथि गोली प्रहार गरिएको थियो । उपचारका क्रममा उनको निधन भएको थियो ।
सिन्जो अवे सन् २००६ देखि २००७ तथा २०१२ देखि २०२० सम्म दुई कार्यकाल जापानको प्रधानमन्त्री रहेका थिए । उनी जापानको इतिहासमै सबैभन्दा लामो समय प्रधानमन्त्री पद सम्हाल्ने नेताको रूपमा चिनिन्छन् ।
यो फैसलाले जापानमा राजनीतिक सुरक्षासम्बन्धी व्यवस्थामा थप कडाइ ल्याउने बहसलाई पुनः तीव्र बनाएको छ ।