उज्यालो नेपाली पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि देशभर १२० वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ ।
पार्टीका नेता जितराम लामाका अनुसार केही निर्वाचन क्षेत्रको विवरण आउन बाँकी रहेकाले अन्तिम संख्या अझै बढ्न सक्ने सम्भावना छ । अहिलेसम्म १२० वटा निर्वाचन क्षेत्रको विवरण प्राप्त भइसकेको उनले जानकारी दिए ।
पार्टी अध्यक्ष कुलमान घिसिङले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन् भने उपाध्यक्ष जितराम लामाले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग चुनावी एकताको सहमति गरे पनि पछि उज्यालो नेपाली पार्टीले एक्लै चुनाव लड्ने निर्णय गरेको थियो । सो निर्णयअनुसार पार्टीले अधिकांश निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार खडा गरेको हो ।
समानुपातिकतर्फ भने उज्यालो नेपाली पार्टीले राष्ट्रिय परिवर्तन पार्टीसँग सहकार्य गर्दै सो पार्टीको सूचीमार्फत उम्मेदवारी दिएको जनाएको छ ।
पार्टी नेतृत्वले प्रत्यक्ष निर्वाचनमा आफ्नै पहिचान स्थापित गर्ने र समानुपातिकतर्फ गठबन्धनमार्फत प्रतिनिधित्व सुनिश्चित गर्ने रणनीतिअनुसार अघि बढेको बताएको छ