बैतडी । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशको बैतडीमा रोचक प्रतिस्पर्धा देखिएको छ । लगातार तीन पटक निर्वाचित भएर जितको ‘ह्याट्रिक’ गरेका नेकपा एमालेका दामोदर भण्डारी चौथो पटक जित निकाल्ने दाउसहित मैदानमा छन् । उनी पछिल्लो समय मन्त्री पनि थिए ।
भण्डारीलाई रोक्न नेपाली कांग्रेसले जिल्ला सभापति चतुरबहादुर चन्द मैदानमा उतारेको छ । चन्द नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्षसमेत हुन् । यस्तै नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट परमानन्द भट्ट र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट हरिमोहन भण्डारी मैदानमा छन् । यिनै चार जना उम्मेदवारबिच यसपटक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
रोचक के छ भने, एकातिर हाल नेकपाबाट उम्मेदवार परमानन्द भट्ट बैतडी एमालेका संस्थापक नेता हुन् । उनी एमालेबाटै पूर्व जिल्ला विकास समिति(जिविस) पनि भइसकेका नेता हुन् । अर्कातिर रास्वपाबाट उम्मेदवारी दिएका हरिमोहन भण्डारी कांग्रेसका पुराना नेता हुन् । उनी २०७९ को निर्वाचनमा कांग्रेसबाट प्रदेशसभामा टिकटका आकांक्षी थिए । पार्टीले टिकट नदिएपछि उनले ‘बागी’का रूपमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यो बेला उनको ११ हजार मत आएको थियो ।
चार वटै दलका उम्मेदवारहरूले चुनावी प्रचारलाई अगाडि बढाइसकेका छन् । अहिले उनीहरू घरदैलो अभियानमा व्यस्त छन् ।
एमालेले बैतडीमा आफ्नो दबदबा कायम राखेर निर्वाचन जित्ने लक्ष्य राखेको छ भने, बलियो संगठनको बलमा एमालेलाई रोकेर जित निकाल्नेमा कांग्रेस र नेकपाको जोड छ । त्यसैगरी रास्वपाले जितसहित नयाँ इतिहास बनाउने लक्ष्य लिएको छ ।
आ–आफ्नै दाबी
एमाले उम्मेदवार भण्डारी २०७९ को निर्वाचनमा ३३ हजार ६११ मतसहित विजयी भएका थिए । त्यो बेला कांग्रेस, नेकपा एकीकृत समाजवादीसहित पाँच दलसमेतको सहयोगमा उठेका तत्कालीन नेकपा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरले ३२ हजार ८० मत ल्याएका थिए ।
एमाले उम्मेदवार भण्डारीले पहिले पाँच दल मिलेर चुनाव लड्दा पनि एक्लै जितेको दाबी गर्दै अहिले जित सुनिश्चित भएको र घोषणा गर्न मात्रै बाँकी रहेको दाबी गर्छन् ।
कांग्रेस उम्मेदवार चन्द एमालेले लगातार जितिरहँदा बैतडीबासीको अपेक्षाअनुसार विकास गर्न नसकेकाले यसपटक आजित भएर आफूलाई मतदान गर्ने बताएका छन् । जिल्लामा कांग्रेसको बलियो संगठन हुँदाहुँदै पनि धेरैपछि आफ्नै चुनाव चिन्हमा भोट हाल्न पाउने भएकाले आफ्नो जित सुनिश्चित रहेको उनको दाबी छ ।
यस्तै नेकपा र रास्वपा उम्मेदवारहरूले भने यसपटक बैतडीका जनताले परिणाम उल्टाउँदै आफूलाई मतदान गरेर जिताउने दाबी गरिरहेका छन् ।
०७४ पछि पहिलो पटक प्रतिनिधिसभामा आफ्नै उम्मेदवार पाएको कांग्रेस यसबेला हौसिएको छ । बागी उठेका तेजबहादुर चन्दले उम्मेदवारी फिर्ता लिइसकेका छन् । जसले कांग्रेसलाई राहत पुगेको बुझाइ छ ।
चतुरबहादुर चन्द जिल्लामा परिचित, सक्षम र लोकप्रिय नाम भएपनि जनतामा परीक्षण हुने पहिलो मौका पाएकाले जित निश्चित भएको बैतडी कांग्रेसका जिल्ला सचिव प्रेम चन्दले दाबी गरे । ‘उहाँले जिल्लाका मतदातासमक्ष पहिलो मौका पाए पनि परीक्षण भएको र त्यसमा सफल भएको पनि उम्मेदवार हो,’ उनले भने, ‘उहाँले क्रिकेट संघमा गरेको उत्कृष्ट कार्यसम्पादन उदाहरण हो । त्यसैले उहाँको जस्तो सक्षमता अन्य उम्मेदवारमा छैन । त्यो जनताले बुझेका छन् ।’
एमाले केन्द्रीय सदस्य गोविन्द गिरि भने जिल्लाको प्रतिबद्ध एमाले संगठन नै जितको दरिलो आधार भएको दाबी गर्छन् । पार्टी संगठनलाई जोगाउन र नेताकार्यकर्तालाई डगमगाउन नदिन एमालेले हरसम्भव प्रयास र मेहनत गरिरहेको छ ।
‘कांग्रेस र माओवादी एक ठाउँमा हुँदा त निर्वाचन जित्यौँ भने अहिले समस्या नै छैन,’ गिरिले भने, ‘हाम्रा उम्मेदवारले सांसद र मन्त्री हुँदा गरेका विकासका काम पनि जितका लागि पर्याप्त छन् ।’ १३ वर्षमा बैतडीको पूर्वाधार, शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन आएको दाबी गर्दै उनले त्यसको मुख्य कारण नै दामोदर भण्डारी रहेको बताए ।
एमालेका भण्डारी २०७० को दोस्रो संविधानसभा निर्वाचन जितेर पहिलो पटक संसद् छिरेका थिए । त्यसयता भएका २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचन पनि जितेर ह्याट्रिक गरेका थिए । उनी एकपटक अर्थराज्यमन्त्री र तीन पटक उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री भइसकेका छन् ।
उता एमाले पृष्ठभूमिकै नेता उतारेको नेकपाले पुरानो माओवादी केन्द्र र एकीकृत समाजवादीको संगठन एकाकार गरेर गाउँगाउँ खटाएको छ ।
‘बैतडीमा हाम्रो सैद्धान्तिक मतले नै जित नजिक पु¥याउँछ । सबै कार्यकर्ता एकजुट भएर त्यसैको कसरतमा छन्,’ नेकपाका नेता नरेन्द्र कुँवरले भने,‘त्यसैले हामी निकै बलियो स्थितिमा छौँ ।’
बैतडीको राजनीतिमा परिचित अनुहार उतारेको रास्वपा पनि युवामाझ बढ्दो क्रेजका कारण हौसिएको छ । रास्वपाका कार्यक्रममा पनि बाक्लै उपस्थिति हुने गरेको छ । वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) बैतडी पुग्दा ओर्लिएको भीडले पुराना दललाई झस्काएको पनि छ ।
जसको बलमा यस पटक बैतडीमा नयाँ इतिहास कोरिने रास्वपाका नेता भोजराज जोशीले दाबी गरे । ‘टोलटोलमा रास्वपा र हरिमोहनको चर्चा छ । पुराना दलका नेतासँग जनता रुष्ट छन्,’ जोशीले भने,‘हरिमोहन आफैमा अब्बल उम्मेदवार पनि हुनुहुन्छ । त्यसैले हामीलाई जितबाट कसैले रोक्न सक्दैन ।’
केही दिनअघि पत्रकार सम्मेलनमा रास्वपा उम्मेदवार भण्डारीले आफ्नो प्रतिस्पर्धी कोही नभएको भन्दै एकतर्फी जित निकाल्ने दाबी गरेका थिए ।
यी चार उम्मेदवारसँग अन्य सात जनासहित कुल ११ जना बैतडीको चुनावी मैदानमा छन् । जसमध्ये १० दलीय उम्मेदवार छन् भने, एक जना स्वतन्त्र छन् ।
अन्य दलीय उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट भूपेनबहादुर चन्द, जनता समाजवादी पार्टी(जसपा) नेपालबाट आनसिंह भण्डारी, नेपाल मजदुर किसान पार्टी(नेमकिपा)बाट नवराज कोइराला, श्रम संस्कृति पार्टीबाट गजेन्द्रराज पाण्डेय, नेकपा माओवादीबाट रामबहादुर कुँवर र आम जनता पार्टीबाट विसनसिंह बोहरा उम्मेदवार छन् । यस्तै जयप्रकाश बोहराले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।