१४ बैशाख २०८३, सोमबार

सांसदहरूलाई ओलीको निर्देशन– पार्टीका विचार बोल्नुपर्छ, आफूखुसी डम्फु बजाउन पाइँदैन


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका विचार मात्रै संसद्मा बोल्न निर्देशन दिएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई मन लाग्यो बोलेँ भन्न नपाइने बताएका हुन् ।

‘पार्टीका विचार त्यहाँ(संसद्मा) बोल्नुपर्छ । पार्टीले देशको विचार अघि बढाएको छ,’ ओलीले निर्देशन दिँदै भने, ‘ती भन्दाबाहेक मलाई यस्तो लाग्यो भनेर बोलेँ भन्ने हुँदैन ।’

पार्टीले संसदीय भूमिका पनि प्रभावकारी हिसाबले अगाडि बढाउने ओलीले बताए । ‘तर, हामी भ्रम फैलाउने होइन, जनतालाई सचेत बनाउने काममा हामी चुक्नु हुँदैन । अगाडि बढ्नुपर्छ,’ ओलीले भने ।

यसका लागि पार्टी एकताबद्ध र एक ढिक्का भएर अघि बढ्नुपर्ने उनले बताए । ओलीले अगाडि भने, ‘जति बेला पार्टी प्रतिकूल अवस्थामा हुन्छ, त्यति बेला पार्टीभित्र अनेक प्रकारका समस्या निकाल्नु उपयुक्त हुँदैन ।’