सर्मिला राेकाया, बाजुरा
बाजुराको बुढीनन्दा नगरपालिकामा नेपाल विद्यालय कर्मचारी तथा बालकक्षा शिक्षक संयुक्त आन्दोलन नगर समितिले विभिन्न माग राख्दै ज्ञापनपत्र पेश गरेको छ । आज पालिकामा सेवा अवधि तथा पारिश्रमिक वृद्धि लगायतका मागसहित समितिले प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार पौडेलमार्फत ज्ञापन पत्र पेश गरेको हो ।
विद्यालय कर्मचारी तथा बालकक्षा शिक्षकहरू लामो समयदेखि न्यून पारिश्रमिकमा कार्यरत रहँदै आए पनि राज्यबाट उचित सेवा–सुविधा प्राप्त गर्न नसकेको भन्दै आन्दोलनका कार्यक्रमअन्तर्गत ज्ञापनपत्र बुझाइएको नेपाल विद्यालय कर्मचारी परिषद्का निवर्तमान जिल्ला अध्यक्ष हंसराज रेग्मीले बताउनुभयो । उहाँका अनुसार पटक–पटक भएका सहमति तथा आश्वासन कार्यान्वयन नभएको र चालु आर्थिक वर्षको बजेटमा समेत आफ्ना माग समेटिन नसकेको विषय ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
हाल बुढीनन्दा नगरपालिकामा ३० जना विद्यालय कर्मचारी, २३ जना बाल विकास शिक्षक तथा ५ जना लेखापाल कार्यरत रहेका छन् ।
बालकक्षा शिक्षक बुढीनन्दा नगर समितिकी अध्यक्ष शिला शाहले बालकक्षा शिक्षक, कर्मचारी र लेखापालहरू न्यून पारिश्रमिकमा काम गर्न बाध्य रहेको बताउँदै पेशागत सुरक्षा, सम्मान र दरबन्दी सुनिश्चित गर्न सरकारसँग माग गर्नुभयो । वर्षौंदेखि बालबालिकाको आधारभूत शिक्षामा योगदान पु¥याए पनि श्रमअनुसारको पारिश्रमिक, सेवा–सुविधा तथा स्थायित्व प्राप्त गर्न नसकेको उहाँको भनाइ छ ।
पाण्डव आधारभूत विद्यालयमा विगत ३३ वर्षदेखि विद्यालय कर्मचारीका रूपमा कार्यरत लालचन्द्र जैशीले सुरुवाती समयमा मासिक ३ सय २० रुपैयाँ पारिश्रमिकबाट सेवा थालेको स्मरण गर्दै विद्यालय कर्मचारीलाई राज्यले निरन्तर बेवास्ता गरेको गुनासो गर्नुभयो । विद्यालयको प्रशासनिक तथा व्यवस्थापकीय काममा महत्वपूर्ण भूमिका निर्वाह गरे पनि अझै अस्थायी र न्यून सेवा–सुविधामा काम गर्नुपरेको उहाँले बताउनुभयो ।
त्यसैगरी, विगत २० वर्षदेखि बालकक्षा शिक्षकका रूपमा कार्यरत विशुदेवी रोकायाले विद्यालय शिक्षाको जग निर्माणमा आफूहरूको महत्वपूर्ण भूमिका रहे पनि उचित सेवा–सुविधा प्राप्त गर्न नसकेको बताउनुभयो । “धुलोमाटोसँग खेल्दै बालबालिकाको भविष्य निर्माणका लागि ‘क’ सिकाउने जिम्मेवारी हामीले निभाइरहेका छौं, तर त्यसअनुसारको पारिश्रमिक पाउन सकेका छैनौं,” उहाँले भन्नुभयो । आन्दोलन रहरले नभई बाध्यताले गर्नुपरेको उल्लेख गर्दै सम्बन्धित निकायले अब ठोस निर्णय लिनुपर्ने उहाँको माग छ ।
मदनआश्रित विद्यालय बड्डालाकी शिक्षक लक्ष्मी बोहोराले देउडा गीतमार्फत सरकारलाई आफ्ना माग सम्बोधन गर्न आग्रह गर्नुभयो । बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म विद्यालयमा रहेर विद्यार्थीको भविष्य निर्माणमा योगदान पु¥याए पनि उचित सेवा–सुविधाबाट वञ्चित हुनुपरेको उहाँले दुखेसो छ ।
यता बुढीनन्दा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार पौडेलले ज्ञापन पत्र बुझ्दै विद्यालय कर्मचारी, लेखापाल तथा बालकक्षा शिक्षकका मागप्रति नगरपालिका सकारात्मक रहेको बताउनुभयो । पालिकाबाट सम्बोधन गर्न सकिने विषयमा आवश्यक पहल गरिने तथा संघीय सरकारसँग सम्बन्धित मागहरु पु¥याइने उहाँको भनाइ छ।
नेपाल विद्यालय कर्मचारी, बालकक्षा शिक्षक तथा सरोकारवालाहरूको सहभागिता रहेको कार्यक्रममा सुरुमा ज्ञापन पत्र पेश र शान्तीपुर्ण धर्ना मार्फत राज्यलाई जानकारी गराउँदै पालिकाबाट सम्बोधन तथा पहल गर्न अनुरोध गरीएको छ । सहभागीहरूले आफ्ना मागप्रति राज्यको ध्यानाकर्षण गराउँदै स्थानीय तहबाट आवश्यक पहल र सम्बोधनको अपेक्षा गरेका छन् ।