सर्मिला रोकाया, बाजुरा
बाजुराको बुढीनन्दा नगरपालिका–१, पिपलडालीमा लागू औषध तथा दुव्र्यसन न्यूनीकरणका लागि समुदायस्तरीय सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जनप्रकाश माध्यमिक विद्यालयको आयोजना तथा सुदूरपश्चिम प्रदेश नमुना विद्यालय सञ्चालन परियोजनाअन्तर्गत सामाजिक विकास कार्यालय, मार्तडी बाजुराको सहयोगमा सचेतना कार्यक्रम सम्पन्न गरिएको हो ।
विद्यालय उमेरका किशोर–किशोरी तथा युवालाई लागू औषधको जोखिमबाट जोगाउँदै स्वस्थ, सुरक्षित र जिम्मेवार समाज निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका शिक्षक लोकराज रेग्मीले जानकारी दिनुभएको छ । उहाँले बिदाको समयमा गलत संगत र सामाजिक प्रभावका कारण विद्यार्थी लागू औषध दुव्र्यसनमा फस्न सक्ने जोखिम बढेकाले समयमै सचेतना आवश्यक भएको बताउनुभयो ।
उहाँका अनुसार किशोर तथा युवा अवस्थामै कुलतमा फस्दा त्यसले व्यक्तिको शिक्षा, स्वास्थ्य, पारिवारिक सम्बन्ध र भविष्यमा दीर्घकालीन नकारात्मक असर पार्ने भएकाले रोकथाममुखी अभियान सञ्चालन गरिएको हो ।
सचेतना कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय बुढीनन्दाका प्रहरी सहायक निरीक्षक भिमसिंह धामीले लागू औषध नियन्त्रण प्रहरीको मात्र दायित्व नभई सम्पूर्ण समुदायको साझा जिम्मेवारी भएको बताउनुभयो । उहाँले समाजमा लागू औषधको प्रयोग, ओसारपसार र बिक्री–वितरण बढ्दै गइरहेको अवस्थामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रममार्फत यस विषयलाई पहिलो प्राथमिकतामा राखी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो । धामीले समाजका सबै पक्षले सक्रिय भूमिका निर्वाह नगरे प्रहरीको एकल प्रयास मात्र पर्याप्त नहुने उहाँको भनाइ थियो ।
कार्यक्रममा लागू औषधको बढ्दो प्रयोग, त्यसले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभाव तथा त्यसको रोकथामका प्रभावकारी उपायबारे सहभागीलाई जानकारी गराइएको थियो ।
जनप्रकाश माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक जयलाल कार्कीले पछिल्लो समय विद्यालय उमेरका किशोर–किशोरी तथा युवामा लागू औषधको प्रयोग, बिक्री–वितरण र ओसारपसारमा संलग्न हुने प्रवृत्ति बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै विद्यालयदेखि समुदायसम्म पुग्ने गरी कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
त्यस्तै जिल्ला समन्वय समिति सदस्य मोहनसिंह कार्कीले लागू औषध दुव्र्यसन नियन्त्रणमा युवाभन्दा पहिले अभिभावक सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले बालबालिकाको विद्यालय उपस्थितिदेखि उनीहरूको व्यवहार, संगत र गतिविधिमाथि अभिभावकको नियमित निगरानी र मार्गदर्शन अत्यन्त महत्तवपूर्ण हुने बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै वडा नम्बर–१ का वडाअध्यक्ष मानबहादुर कार्कीले लागू औषधको कुलतमा फसेपछि सुधार हुन लामो समय लाग्ने भएकाले समयमै रोकथाम र सचेतना सबैभन्दा प्रभावकारी उपाय भएको बताउनुभयो । उहाँले स्वस्थ समाज निर्माणका लागि विद्यालय, परिवार, स्थानीय तह, सुरक्षा निकाय तथा समुदायबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा युवापुस्तालाई लागू औषध दुव्र्यसनबाट जोगाउन अभिभावक, शिक्षक, स्थानीय समुदाय तथा सम्बन्धित निकायबीच समन्वय र सहकार्य अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । स्वस्थ, अनुशासित, सिर्जनशील र जिम्मेवार नागरिक उत्पादनका लागि सचेतना अभियानलाई निरन्तरता दिनुपर्ने धारणा पनि व्यक्त गरिएको थियो ।