१५ श्रावण २०८३, शुक्रबार

हिमालीमा भौगोलिक विकटताबीच घरदैलोमै सामाजिक सुरक्षा भत्ता नवीकरण, सेवाग्राही खुसी ।


सर्मिला रोकाया, कोल्टी,बाजुरा
बाजुराको हिमाली गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण सेवालाई नागरिकमैत्री बनाउँदै गाउँपालिकाका सबै वडाका प्रत्येक टोल–बस्तीमै पुगेर नवीकरण कार्य सञ्चालन गरेको छ ।

सामान्यतया सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि लाभग्राहीहरू सम्बन्धित वडा कार्यालयमा पुग्नुपर्ने व्यवस्था रहे पनि हिमाली गाउँपालिकाले भौगोलिक विकटता, लामो दूरी तथा वृद्धवृद्धा र अशक्त नागरिकलाई हुने सास्तीलाई मध्यनजर गर्दै घरदैलोमै सेवा प्रदान गरेको हो ।

गाउँपालिकाको टोली प्रत्येक वडा र टोल–बस्तीमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरिरहेको छ । यसबाट विशेषगरी वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा अन्य लाभग्राहीहरूलाई सहज सेवा प्राप्त भएको भन्दै उनीहरूले खुसी व्यक्त गरेका छन् ।

नवीकरण कार्यका लागि पञ्जीकरण शाखाका MIS अपरेटर नन्दराज पाण्डे र फिल्ड सहायक लंकबहादुर कार्की सहितको टोली विभिन्न बस्तीमा परिचालित भएको छ । टोलीले दुर्गम बस्तीमै पुगेर सेवाग्राहीलाई सेवा दिइरहेको छ ।

हिमाली गाउँपालिकाका इलेक्ट्रिसियन प्राविधिक राजबहादुर मलालका अनुसार गाउँपालिकाले सेवाग्राहीलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले टोल–टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण अभियान सञ्चालन गरेको हो । स्थानीयले गाउँपालिकाको यस पहलले सेवाप्रवाहलाई थप प्रभावकारी, सहज र नागरिकमैत्री बनाएको भन्दै प्रशंसा गरेका छन् ।

ताजा समाचार