४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026

अख्तियारमा सबैभन्दा धेरै उजुरी भूमि व्यवस्था मन्त्रालयसँग सम्बन्धित


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा केन्द्र सरकारका मन्त्रालयमध्ये सबैभन्दा धेरै उजुरी भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित परेको छ ।

आयोगका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सङ्घतर्फ दर्ता भएका कुल १५ हजार ५१२ उजुरीमध्ये ३ हजार ३६ वटा (१९ प्रतिशतभन्दा बढी) उक्त मन्त्रालयसँग सम्बन्धित छन् । आयोगका प्रवक्ता सुरेश न्यौपानेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् ।

त्यस्तै, शिक्षा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित १ हजार ९८३, गृह मन्त्रालयसँग १ हजार ७५७, पूर्वाधार विकास मन्त्रालयसँग १ हजार ९५, अर्थ मन्त्रालयसँग ८७७ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित ८१६ वटा उजुरी दर्ता भएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित ६५७, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग ५६३, कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग ५४८ तथा सूचना तथा सञ्चार मन्त्रालयसँग सम्बन्धित ३९९ वटा उजुरी परेको आयोगले जनाएको छ ।

यसैगरी, अन्य मन्त्रालयसँग सम्बन्धित ३ हजार ७८१ वटा उजुरी दर्ता भएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

आयोगले बिहीबार छत्तीसौँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको छ । आयोगका अनुसार प्रतिवेदन ४६९ पृष्ठको रहेको छ ।