७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026

नेपालमा गैंडाको संख्या ७५२, संरक्षण चुनौती भने उस्तै


लुम्बिनी –एकसिंगे गैंडा नेपालको प्रमुख वन्यजन्तु पहिचानसँगै पर्यटन र पारिस्थितिकीय प्रणालीका लागि महत्वपूर्ण मानिन्छ। नेपालमा पछिल्लो समय गैंडाको संख्या बढे पनि संरक्षणका चुनौती भने कायमै छन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार नेपालमा हाल ७ सय ५२ गैंडा छन्। सन् २०२१ को गणनाअनुसार चितवनमा ६ सय ९४, बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सामा ३ गैंडा थिए।

पछिल्लो पाँच वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा १ सय ३३ गैंडा मरेका छन्। प्राकृतिक कारण, आपसी द्वन्द्व, दलदलमा फस्नु, करेन्ट तथा बाघको आक्रमणसँगै मानव–गैंडा द्वन्द्व संरक्षणका प्रमुख चुनौती बनेका छन्।

पछिल्लो समय चितवनमा गैंडा चोरीसिकारबाट मर्ने घटना भने नियन्त्रणमा आएको संरक्षण अधिकारीहरूले बताएका छन्। सरकारले गैंडा संरक्षणका लागि सन् २०२४–२०३४ को कार्ययोजनाअनुसार काम गरिरहेको छ भने आगामी गणनालाई थप वैज्ञानिक बनाउन नयाँ विधि अपनाउने तयारीसमेत भइरहेको छ।