काठमाडौँ- कालीकोटको खाँडाचक्र नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा कानुनविपरीत व्यक्तिका नाममा दर्ता तथा भोगचलन गराएको आरोपमा वडा सचिवसहित १२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
मुद्दा चलाइएकामा तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष धिरबहादुर बम, सदस्य रमेश नेपाली र राजेन्द्रबहादुर थापा, मालपोत कार्यालय कालीकोटका तत्कालीन प्रमुख नेत्रबहादुर शाही, सहायक कम्प्युटर अपरेटर वीरेन्द्रबहादुर शाही, तत्कालीन कार्यवाहक वडाध्यक्ष भरतबहादुर शाही र तत्कालीन नायब सुब्बा मुकुन्द बस्नेत छन्।
त्यस्तै, मालपोत कार्यालयका तत्कालीन कार्यालय सहयोगी भक्तबहादुर शाही तथा जग्गा प्राप्त गर्ने अंखपुरा शाही, प्रदीप दमाई र दीपबहादुर शाहीसहित जग्गा खरिद गर्ने नरेन्द्रबहादुर थापाविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार वडा सचिवले नगर विकास समितिको जग्गा आफ्नी आमाको नाममा दर्ता गराएको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा खाँडाचक्र नगर विकास समितिको स्वामित्वमा रहेको कित्ता नं. १७७२ तथा सरकारी कित्ता नं. ५७२ र ९२१ का जग्गा कानुनविपरीत अन्य व्यक्तिका नाममा दर्ता तथा भोगचलन गराइएको पाइएको अख्तियारले जनाएको छ।
अख्तियारका अनुसार जग्गा सिफारिस गर्दा स्थलगत निरीक्षण नगरी निर्णय गरिएको देखिएको छ। साथै, भूमिसम्बन्धी नियमविपरीत सहरी तथा बजार क्षेत्रमा तोकिएको १३० वर्गमिटरको सीमाभन्दा बढी क्षेत्रफलको जग्गा कृषिका लागि उपलब्ध गराइएको पाइएको छ।
अख्तियारका प्रवक्ता न्यौपानेका अनुसार सम्बन्धित व्यक्तिहरूको अन्यत्र पनि घरजग्गा रहेको अभिलेखबाट देखिएको छ। साथै, शाहीले जग्गाको पुर्जा प्राप्त गरेको चार वर्ष र श्रेस्ता अद्यावधिक भएको दुई वर्ष नपुग्दै उक्त जग्गा बिक्री गरेको समेत अनुसन्धानबाट खुलेको छ।