पोखरा- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान बुधबार साँझ अवतरण गरेको छ।
फ्लाई दुबईको १ सय ६६ सिट क्षमताको बोइङ ७३७ म्याक्स–८ विमान साँझ ६ः१८ बजे दुबईबाट पोखरा आइपुगेको हो। विमानको अवतरणसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनको नयाँ अध्याय सुरु भएको छ।
दुबई–पोखरा नियमित उडान सुरु भएपछि पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार हुनुका साथै पर्यटक तथा यात्रुलाई प्रत्यक्ष हवाई सेवाको सुविधा पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी खाडी मुलुकबाट नेपाल आउने यात्रुका लागि पोखरा थप सहज गन्तव्य बन्ने देखिएको छ।
फ्लाई दुबईको नियमित उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने प्रक्रियालाई थप बल पुग्ने अपेक्षा गरिएको छ। साथै, यसले पोखराको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ।