गायक उदितनारायण झा यतिबेला विवादमा तानिएका छन् । मञ्चमा प्रस्तुति दिँदै गर्दा फोटो खिच्न आइपुगेकी महिला फ्यानको ओठमा चुम्बन गरिदिएको घटनाले अहिले उनी विवादमा तानिएका हुन् ।
शनिबार उदितले दुई महिला फ्यानलाई त्यसरी चुम्बन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । त्यति मात्रै होइन, अहिले उदितले यसअघि यसरी चुम्बन गरेका अन्य भिडियोहरु पनि सञ्जालमा देखिन थालेका छन् । अल्का याग्निक र श्रेया घोसाललाई यसअघि थुप्रै कार्यक्रममा चुम्बन गरेको भिडियो सामाजिक सञ्जालमा देखिएसँगै झाको यस किसिमको व्यवहारको आलोचना भइरहेको छ ।
अल्कालाई इन्डियन आइडलको मञ्चमा प्रस्तुति दिइरहँदा गालामा चुम्बन गरिदिएका थिए । अप्रत्यासित चुम्बनले अल्का अचम्मित बनेकी थिइन् । र, तुरुन्तै मञ्चमा उदितबाट दुरी बनाएकी थिइन् । केहि वर्षअघि उत्कृष्ट महिला गायिकाको अवार्ड जितिरहँदा मञ्चमा उदितले श्रेयालाई चुम्बन गरे । त्यतिबेला मलाइका अरोरा र उदितले उक्त अवार्ड श्रेयालाई हस्तानतरण गरेका थिए ।
अवार्ड दिँदै उदितले श्रेयालाई अंकमाल गरे, अनि चुम्बन गरिदिए । त्यतिबेला श्रेयाका लागि पनि उक्त चुम्बन आकस्मिक थियो । र, त्यतिबेला उदितको उक्त व्यवहारबाट चकित पनि थिइन् । तर, अवार्ड उचाल्दै गर्दा तत्काल उनले उक्त चुम्बनलाई पनि स्वीकारेजस्तो देखिन्थ्यो ।