
‘एक्टर’ नामका दुई फिल्मको विवाद फेरि सुरु भएको छ । दुई साताअघि प्रदर्शित फिल्म ‘एक्टर : टेक वन’का निर्माताले अनुचित लाभ लिन खोजेको भन्दै काठमाडौं जिल्ला अदालतमा ‘एक्टर’का निर्माताविरुद्ध मुद्धा दायर गरेका छन् । फिल्म रिलिज गर्न दिने भन्दै अनुचित प्रभावमा पारेर ‘एक्टर’का निर्माताले आफूहरूबाट १५ लाखको चेक लिएको अदालतमा दायर मुद्धामा उल्लेख छ ।
‘अदालतबाट चलचित्र प्रदर्शनमा रोक लगाएको आदेश विपरित हामी फिरादकर्ताहरूसँग ‘एक्टर : टेक वन’ प्रदर्शन गर्न दिने भनी र प्रतिलिपि अधिकार हनन भयो भनी झुक्याइ, जालसाझी र अनुचित दबाबमा पारी क्षतिपूर्तिबापत भन्दै अनुचित रुपमा १५ लाख रुपैयाँको चेक लिएकाले अधृत फिल्म्स प्रालिको चेकबाट खिचिएको १५ लाखको चेक समेत फट्टा (रद्द) गरि पाऊँ,’ ‘एक्टर : टेक वन’को निर्माण कम्पनी अधृत फिल्म्सको तर्फबाट दायर फिराद पत्रमा उल्लेख छ ।
अदालतमा दायर मुद्दामा ‘एक्टर’ फिल्मको निर्माता कम्पनी नेपाली डायस्पोरा इन्टरटेनमेन्ट प्रालिलाई विपक्षी बनाइएको छ । दुवै फिल्मका निर्मातालाई चैत ६ गते मंगलबार छलफलका लागि उपस्थित हुन अदालतले आदेश दिएको छ ।
गत माघ १३ गते ‘एक्टर’का निर्माताले नाम चोरीको आरोपमा ‘एक्टर : टेक वन’विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेका थिए । त्यसैको आधारमा अदालतले फिल्मको प्रदर्शन रोक्न आदेश जारी गर्यो । फिल्मको प्रदर्शन नै रोकिएपछि ‘एक्टर : टेक वन’का निर्माताले ‘एक्टर’का निर्मातासँग सहमति गरेका थिए । त्यसपछि माघ १८ गतेबाट फिल्म प्रदर्शनमा आयो । तर, दुई पक्षबीच सहमति कसरी जुट्यो भन्ने खुलाइएको थियो । ‘एक्टर’विरुद्ध मुद्धा दायर भएसँगै १५ लाखमा सहमति भएको खुलेको छ ।
‘एक्टर’ र ‘एक्टर : टेक वन’ दुवै व्यावसायिक रुपमा असफल भइसकेका छन् । ‘एक्टर’को त बक्स अफिसमा हरिविजोग नै भयो । फिल्मले ३० हजार पनि कमाउन सकेन । ‘एक्टर : टेक वन’ले भने एक करोड आसपास ग्रस व्यापार गरेको जानकारी प्राप्त छ ।