१९ माघ २०८२, आईतवार

नेपाली कांग्रेस फुट्दैन, एकढिक्का रहन्छ: काङग्रेस महामन्त्रि शर्मा


कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन डाक्दैमा पार्टी नफुट्ने बताएका छन् । केन्द्रीय कार्यसम्पादन समिति बैठकअगाडि पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले आफूहरूले विधानअनुसार नै महाधिवेशन आह्वान गरेको बताएका हुन् ।

उनले भने, ‘नेपाली कांग्रेस फुट्दैन, एकढिक्का रहन्छ । कांग्रेस फुट्छ भन्ने कसैमा आशंका छ भने नराखे हुन्छ ।’

विधानअनुसार नै महाधिवेशन आह्वान गरेको पनि महामन्त्री शर्माको भनाइ छ । ‘यो परिस्थितिमा नयाँ नेतृत्वसहित नै चुनावमा जाने कुरा हुनुपर्ने हो । त्यसैले निर्धारित समयमा गर्न सकिएन । विकल्पका रूपमा विशेष महाधिवेशन नै हो,’ उनले भने ।

संस्थागत रूपमै विशेष महाधिवेशनका बारेमा केन्द्रीय समिति र कार्यसम्पादन समितिले निर्णय गरोस् भन्ने आफूहरूले चाहेको पनि उनले बताए ।

नियमित महाधिवेशन हुन नसकेको, विधानले तोकेको समयसीमा नाघिसकेको र नेतृत्व–नीतिप्रति असन्तुष्टि चुलिँदै गएको सन्दर्भमा विशेष महाधिवेशनलाई लिएर कांग्रेसभित्र ध्रुवीकरण बढेको छ ।