जनकपुरधाममा अन्तर्राष्ट्रिय स्तरको साहित्य, कला र नाट्य महोत्सव आयोजना हुने भएको छ । मैथिली भाषा, साहित्य र संस्कृतिलाई विश्वमाझ चिनाउने लक्ष्यसहित “जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८२” घोषणा गरिएको हो ।
महोत्सव फागुन ५ देखि ८ गतेसम्म जनकपुरधाम–८ स्थित मैथिली विकास कोषको मैथिली भवनमा सञ्चालन हुनेछ । कार्यक्रममा नेपालसहित विभिन्न देशका नाट्य समूह, साहित्यकार र कलाकारको सहभागिता रहनेछ ।
आयोजक संस्था मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीका अनुसार यो महोत्सव केवल मनोरञ्जनका लागि नभई मैथिली सभ्यता र सिर्जनात्मक चेतनाको प्रतिनिधि उत्सव हो । उनले नाटक, साहित्य र कला समाजको प्रतिबिम्ब भएकाले यसले नयाँ पुस्तामा भाषा र संस्कृतिप्रति रुचि बढाउने विश्वास व्यक्त गरे ।
महोत्सवअन्तर्गत नाटक मञ्चन, साहित्यिक संवाद, कला प्रदर्शनी, कविता वाचन र विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछन् । अन्तर्राष्ट्रिय कलाकारको सहभागिताले जनकपुरधामलाई विश्व रंगमञ्चसँग जोड्ने अवसर मिल्ने आयोजकको भनाइ छ ।
महोत्सव सफल बनाउन आयोजकले साहित्यकार, कलाकार, विद्यार्थी तथा आम नागरिकलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन् । यस कार्यक्रमले जनकपुरधामलाई साहित्य र नाट्यको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्नुका साथै स्थानीय प्रतिभालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने अपेक्षा गरिएको छ ।