=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
सङ्घीय संसदमा देखा परेको गतिरोधलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाउनुभएको राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरूको बैठक शुरु भएको छ । केहीबेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सिंहदरबारमा शुरु भएको बैठकमा देशमा देखा परेको पछिल्ला समस्याका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गएको साउन १० गतेदेखि सङ्घीय संसद्का दुवै सदनको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको छ । त्यही कारण महत्त्वपूर्ण विधेयक अगाडि बढ्न सकेको छैन ।
प्रधानमन्त्रीले आह्वान गर्नुभएको बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी हुनुभएको छैन । बैठकमा ओली नगए पनि एमालेका तर्फबाट उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी सहभागी हुनुहुन्छ ।
यस्तै बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का सहभागी हुनुहुन्छ । यस्तै नेकपा माओवादी केन्द्रबाट अध्यक्षसमेत रहनुभएका प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे सहभागी हुनुहुन्छ ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र प्रमुख सचेतक सन्तोष परियार सहभागी हुनुहुन्छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय जनमत पार्टीकी नेता अनितादेवी साह सहभागी हुनुहुन्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार र सुरक्षा घेरा छलेर बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले गएको साउन ३ गते सिनामङ्गलमा बरामद गरेको थियो । त्यही विषयमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले सदनमा अवरोध गर्दै आएको छ । सरकार र सत्तागठबन्धनमा आबद्ध रहेका दलले उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको भन्दै सरकारी संरचनाले नै छानबिन गर्ने बताउँदै आएका छन् ।