=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026

बेलबारीका मेयरले खोसे अधिकृतको जिम्मेवारी, अख्तियारमा उजुरी गरेको आरोप


बेलबारी नगरपालिकाको कार्यपालिका बैठकले आठौं तहका अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ । उपमेयरलाई जानकारी नदिइ मेयर दिलप्रसाद राईले आठौं तहका अधिकृत महेन्द्र खड्का जिम्मेवारीबाट हटाएका हुन् ।

२८ माघको कार्यपालिकाको बैठकले गरेको निर्णयमा कार्यपालिकाको गोपनियता भंग गरेको र कार्यालयको हित विपरीत काम गरेको आरोप छ ।

कार्यपालिकाको निर्णयमा भनिएको छ, ‘बेलबारी नगरपालिकाको कर्मचारी प्रशासन शाखामा कार्यरत अधिकृतस्तर आठौं तहका कर्मचारी महेन्द्र खड्काबाट कार्यपालिकाको गोपनियता भंग गर्ने, कार्यलयको हित विपरित काम कारबाही गर्ने लगायत पदीय मर्यादा विपरित काम कारवाही गरेको पाइएको हुँदा निजलाई हालको जिम्मेबारीबाट हटाई आवश्यक व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा लेखी पठाउने सर्वसम्मत निर्णय गरियो ।’

नगरपालिका स्रोतका अनुसार बेलबारी नगरपालिका ७ मा व्यक्तिको जग्गामा सरकारी बजेटमा घाट निर्माण भइरहेको छ । १ करोड ११ लाखमा ठेक्का लागेको घाटाको निर्माण जारी छ ।

व्यक्तिको जग्गामा सरकारी बजेट खर्च भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । यो उजुरी खड्काले गरेको आरोप छ । खड्काले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

‘प्रस्तुत विषयमा तपाईंलाई यस नगरपालिकाको कर्मचारी प्रशासन शाखाको शाखा प्रमुखको रूपमा जिम्मेवारी तोकी पालिकाले विभिन्न कामकाज लगाउँदै आएकोमा नगर कार्यपालिकाको मिति २०८१/१०/२८ गते बसेको १२७ औं बैठकको निर्णयानुसार तपाईंलाई अर्को व्यवस्था नभएसम्मका लागि तोकिएका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको व्यहोरा जानकारी गराईन्छ’, खड्कालाई दिइएको पत्रमा लेखिएको छ ।

पत्र पठाएपछि खड्का कार्यालयमा हाजिर भएका छैनन् ।

उपमेयर नितु थापा कोइरालाले अधिकृत खड्कालाई आफ्ना कुरा राख्ने मौका नदिइ जिम्मेवारीबाट हटाउनु गलत भएको बताइन् । खड्कामाथि भएको कारवाही गैरकानुनी भएको उनले बताइन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकालले नगरपालिकाको हित विपरीत काम गरेका कारण कार्यपालिकाले जिम्मेवारीबाट हटाउने निर्णय गरेको बताए ।